दाङमा बैशाख १७ देखि २५ सम्म लकडाउन

दाङ, १४-वैशाख/ कोरोना संक्रमण बढ्दै गएपछि दाङमा यही बैशाख १७ गते देखि ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्योगी/व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरुबीच आज घोराहीमा भएको बैठकले बैशाख १७ गतेदेखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निणर्य भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए।

दैनिक कोरोना संक्रमितहरु बढ्न थालेसँगै चौतर्फिरुपमा तत्काल लकडाउन गरी नागरिकको जीवन रक्षा गर्न आवाज उठ्दै आएपछि स्थानीय प्रशासनको सक्रियतामा लकडाउन गर्ने निर्णय भएको हो । बैशाख १७ गते बिहान ६ बजे देखि २५ गते बेलुका ६ बजे सम्मका लागि पहिलो चरणमा लकडाउन गर्ने निणर्य भएको हो । खाद्यान्न पसल भने दैनिक बिहान ६ बजेदेखि ७ बजे सम्म खुल्नेछ ।
यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाइएको छ । साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निणर्य गरेको छ ।
यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निणर्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *