चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं, बैसाख ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तीमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । मन्त्रालयले कोरोनाको अवस्था भयावह बनेको भन्दै यस्तो सिफारिश गरेको हो ।मन्त्रालयको यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आए पनि निर्णय भएको छैन ।

मन्त्रालयको सिफारिशपछि आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा कडा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।

यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने छ । पछिल्लो समय काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख शहरहरुमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । उपत्यकामा भित्रभित्रै भुसको आगो जसरी कोरोना संक्रमण बढेको भन्दै मन्त्रालयले लकडाउनको सिफारिश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *