प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन्।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार आज बिहान ११ बजे प्रधानमन्त्री ओली आयोग आउने कार्यक्रम छ।

‘प्रधानमन्त्रीज्यू आज बिहान ११ बजे आयोग कार्यालय आउने जानकारी हिजो प्रमुख निर्वाचन आयुक्तले दिनुभएको थियो,’ आयोग स्रोतले भन्यो।
वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग आउन लागेको हुन सक्ने स्रोतको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। ओली र प्रचण्ड-नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।

यसअघि आयोगले कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको थिएन।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आयोग जानेबारे अहिलेसम्म जानकारी नभएको सेतोपाटीलाई बताए। यसअघि पार्टीका तर्फबाट आयोग गइरहेका नेताहरू नै छलफलका लागि आयोग जान सक्ने उनको भनाइ छ।

यसअघि गत माघ २० गते नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *