लुम्बिनी प्रदेशले देउखुरीमा स्थापना दिवस मनाउने

बुटवल । लुम्बिनी प्रदेशले नयाँ प्रदेश राजधानीमा प्रदेशको स्थापना दिवस मनाउने भएको छ ।

शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बसेको बैठकले प्रदेशको स्थापना दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकमा प्रदेशका मन्त्रीहरु, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव ,विभिन्न मन्त्रायका सचिव ,देउखुुरीस्थित राप्ती गढवा र शितंगा गाउँपालिका प्रमुख,दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको बैठकमा सहभागिता थियो ।

दिवस मनाउन मूल समारोह समिति र अन्य विभिन्न समिति गठन गरी तयारी सुरु गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सीले जानकारी दिए ।

“फागुन दुई,तीन र चार गतेका लागि विभिन्न कार्यक्रम तय भएका छन् । राप्ती प्राविधिक शिक्षालयमा मूल समारोह आयोजना गरी प्रदेशको स्थापना दिवस मनाउने निर्णय भएको छ । ” उनले भने ।

दिवसका अवसरमा प्रदेशद्वारा घोषणा गरिएका पदक वितरण हुनेछ । सरकारी कार्यालय र नागरिकका घर–घरमा दीपावली ,रक्तदान,गजल,कविता तथा वक्तृत्वकला प्रतियोगिता ,देउखुरी क्षेत्रमा सरसफाई कार्यक्रम समेत तय भएका छन् ।

त्यस्तै कृषि तथा पर्यटकीय क्षेत्रको बारेमा विशेष प्रदर्शनी ,१२ वटा जिल्लाको झाँकी समेत आर्कषणका रुपमा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *