केही बोलौं बाइलो भइन्छ कि भन्ने डर


शरद देेवकोटा । वर्तमान समयमा राजनीतिको विषयले अलि बढी चर्चा पाउन थालेको छ । खासगरी सत्तारुढ दल नेकपा भित्रको किचलो,किचकिच र गालीको खेतीले सबैतिर आफ्नो असर देखाउँदै आइरहेको छ । अब के होला ? दलहरुको अवस्था कस्तो हुनेहोला ? राजनीतिक यात्रा कुन मोडमा गएर टुङ्गिएला ? यसको निकास कसरी होेला ? कसैले प्रतिगामी भनिरहँदा कसैले अग्रगामी भनिरहेको सुनिन्छ । नीति,विचार र पद्धति एकातिर । व्यक्तिगत आरोप र लान्छना अर्काेतिर । सुन्दा पनि लाजले शीर झुकाउनुपर्ने । दलको आगामी योजना के हुन् ? लक्ष उद्देश्य प्राप्त गर्ने रणनीति के हो ? विगतका चुनावताका घोषणा पत्रमा गरिएका बाचा पूरा गर्ने कसरी हो ? यी लगायतका विषयमा समीक्षा र छलफल नगरी आफ्नो लाचारीपनलाई ढाकछोप गर्न ताजा जनादेशको नाउँमा चुनावको नाटक मन्चन भइरहेको छ । यो समयमा पार्टी फुटबाट नेता कार्यकर्ता उत्साहित भएको भन्दै हर्षित हुने मान्छे पनि भेटिन गर्छन् । संसद विघटन गर्ने कदम चाल्नु उचित हो भन्नेहरु पनि प्रशस्त देखिने गर्छन् । आजसम्मको इतिहास हेर्दा के देखिन्छ भने हरेक शासकले चाल्ने जस्तोसुकै कदम भए पनि देश र जनताको हितमा चालिएको कदम भन्ने गर्छन् । तर सबै कदमले देश र जनताको हित गर्न नसकेका कारण ती शासक असफल हुँदै आएका उदाहरण धेरै छन् ।

मान्छेले भोक सहन सक्छ । अपमान सहन सक्दैन । मान्छेले अभाव सहन सक्छ । अन्याय सहन सक्दैन । अपमान र अन्याय सहने मान्छेले समाज परिवर्तन गर्न सक्दैन । देश र समाजको लागि कुनै योगदान गर्न सक्दैन । उसले न आफ्नो जीवन सुखी बनाउन सक्छ न त अरुको जिन्दगी सुखी बनाउन सक्छ । कर्म र शब्दमा भिन्नता देखाउने मान्छे पनि परिवर्तनको संवाहक बन्न सक्दैन । बोल्ने एकथोक । गर्ने अर्काे थोक । विचार एउटा । व्यवहार अर्काे । भित्र मन अँध्यारो । देखाउनलाई बाहिर अनुहार उज्यालो । हाम्रो समाजमा यस्तो स्वभावका ढोंगी मान्छेहरुको कमी छैन । आफ्नो पौरख र परिश्रमलाई भन्दा भाग्यलाई महत्व दिनेहरुले समाजको भलाइ गर्न सक्दैनन् । समाजमा चेतना,जागरण र स्वाभिमानको झण्डा फहराउन सक्दैनन् । मानव जीवनमा परिश्रम र पसिनाको महत्वलाई पनि उचित स्थानमा राख्न सक्दैनन् । यी सबैविनाको मानव जीवनको कुनै अर्थ हुँदैन । कुनै महक हुँदैन । यो दुनियामा मानव सभ्यताको विकासको सिलसिला भाग्यले निर्माण भएको होइन । भाग्यलाई उचो बनाउने र परिश्रमलाई होच्याउनेहरु परिवर्तनका पक्षपाती बन्न सक्दैनन् ।

परिश्रम दुई किसिमका हुन्छन् । एउटा शारीरिक र अर्काे बौद्धिक । आजसम्म के सुनिदै आएको छ भने बौद्धिक परिश्रम गर्नेहरु ठूला । शारीरिक परिश्रम गर्नेहरु साना । जसले जे भने पनि परिश्रम गर्नेहरुबीच भेदभाव गर्नुहँुदैन । परिश्रम नगरी कसैको जीवन सफल हुन सकेको छैन । पौरखी मान्छे कोही पनि इष्र्यालु हुँदैनन् । पौरखी मान्छेहरु कोही पनि कुण्ठाले ग्रस्त हुँदैनन् । पौरखी मान्छेहरु निरास,खिन्न र जीवनदेखि हरेस खाएर भाग्ने स्वभाव भएका हुँदैनन् । राम्रो ज्ञान,राम्रो शिक्षा र राम्रो व्यवहार पौरखी मान्छेहरुको जीवन शैली बनेको हुन्छ । परिश्रमी मान्छेहरुको दैनिकी सहज,सरल र सरस हुने गर्छ । प्रसन्न मन भएका मान्छेहरुले खाएको खाना राम्रोसंग पच्ने गर्छ । खाना पचेपछि शरीर निरोगी हुन्छ । अनुहार उज्यालो हुन्छ र बोलीमा मिठास भरिएको हुन्छ । मान्छेको मनभित्र डाह र इष्र्याले बास गरेन भने उसको शरीर मात्र होइन,समाज पनि राम्रो बन्न सक्छ । फूल फुले जस्तै सुन्दर पनि बन्न सक्छ ।

समय,परिवेश र सन्दर्भअनुसार एउटै वस्तु कहिले प्यारो लाग्ने हुन्छ । कहिले दिक्कलाग्ने हुन्छ । कुनै बेलाको कर्णप्रिय गीत कुनै बेला पट्यारलाग्दो हुन्छ । कहिले त्यही मान्छे प्यारो । कहिले त्यही मान्छे बिरानो । कहिले तिनै आफन्त सधै कामलाग्दा जस्ता । कहिले तिनै आफन्तलाई कहिले पनि नहेरुँ जस्ता । कहिले पानी । कहिले घाम । कहिले बादल । कहिले झरी । कहिले हाँसो । कहिले रोदन । जिन्दगीको यात्रा सधै एकनासको हुँदैन । तर पनि मान्छेले सधै आफूले सोचेजस्तो एकनासले राम्रो मात्र भइरहोस भन्ने सोच्ने गर्छ । दिन,उमेर र बैंस सधै एकैकिसिमको भइरहोस भन्ने ठान्ने गर्छ । यो मानवीय स्वभाव नै हो । राम्रो देख्नु । राम्रो रोज्नु र राम्रो खोज्नु यो राम्रो पक्ष हो । कति बेला को काम लाग्छ भन्ने ख्याल नगरेर आफ्नो प्रशंसामा गीत गाएन भन्दैमा भित्तोसम्मै पु¥याएर अचेट्नु आफ्नै लागि घातक हुन्छ । वर्तमान समयमा राजनीति अझ त्यसमाथि सत्ताले प्रशंसा मात्र चाहिरहेको परिवेशमा आलोचनात्मक चेतलाई भुत्ते बनाउने प्रयत्न भइरहेको छ ।

जुट्न पनि बेर छैन । फुट्न पनि अबेर छैन । वर्तमान त अलमलमै छ । भविष्यको तस्विर पनि यस्तै हुन्छ भनेर किटान गर्न नसकिने अवस्थामा सत्ताले आफू अनुकूल व्याख्या गरिहेको यस्तो परिवेशमा कुनै एउटा व्यक्तिको सोच, निर्णय र कदममाथि कसैले प्रश्न उठाउन नसकोस् । कतै छलफल र बहस गर्नुनपरोस । राजनीतिक दलले कतै अवरोध नगरोस् । संगठन,विचार र विधि भन्दा व्यक्तिको महत्वलाई उचो बनाइराख्न परोस् । यस्तो सोच्ने नेतृत्व कायम रहँदासम्म लोकतन्त्रको धज्जी उडाउने कामले निरन्तरता पाउँदै जानेमा कुनै शंका छैन । यो समयमा आमसभाहरुमा सिद्धान्त,विधि पद्धति होइन । नीति विचार पनि होइन । यी सबैको साटो अरुलाई सकुन्जेल गाली ग¥यो भने मात्रै त्यो बिक्छ । त्यसैले गालीको खेती बढ्दै गएको हो । यस्तो तर्क गर्नेहरुको कत्ति कमी छैन हाम्रो समाजमा ।

कोही मान्छे दुखमा अलि बढी आत्तिने गर्छन् । कोही मान्छे सुखमा अलि बढी मात्तिने गर्छन् । उज्यालो हुँदा कहिले पनि अन्धकार हुँदैन कि जस्तो । अन्धकार हुँदा कहिले पनि उज्यालो हुँदैन कि जस्तो । मलाई त सधै सुखै सुख । खै के गर्नु मेरो त कर्मै खोटो । मलाई त दुखै दुख । कसै कसैले यस्तो सोच्ने गर्छन् । वास्तवमा यस्ता सोचाइ वास्तविकतासंग मेल खाने हुँदैनन् । कुनै पनि मान्छेको कर्म खोटो भन्ने हुँदैन । साथै गृहस्थी जीवन दुखी । साधु सन्तको जीवन सुखी । यस्तो सोचलाई पनि ठीक हो भन्न सकिदैन । अन्याय सहने मान्छेको जीवन सधै दुखी हुन्छ । अपमान सहने मान्छेको जीवन अझ बढी कष्टकर हुन्छ । स्वतन्त्रता र स्वाभिमानको बाटोमा हिड्दा चुनौती आउँछन् । अप्ठारा र सकस भेटिने गर्छन् । तर पनि त्यो बाटो गौरवको बाटो । सम्मान र स्वतन्त्रताको बाटो । मानव सभ्यताको विकासमा यही बाटोबाट हिंड्नेहरुको मात्रै महत्वपूर्ण योगदान रहेको छ । वर्तमान समयमा यो महत्वलाई हियाउने काम हुन थालेकोछ । गालीका शब्दवाण प्रहार गर्ने काम हुँदै आएको छ । सिर्जना र निर्माण भन्दा गालीगलोजको ब्याड राखेर जनताका शान्त मनहरुलाई खेत ठानेर रोप्ने काम भइरहेको छ । यस्तो काम हुनुहँुदैन भन्ने र लेख्नेहरुमाथि शासकले दमन गर्ने नीति नअपनाउने भन्न सकिदैन । यतिबेला यी पंक्ति लेखिरहँदा धेरै अघि आफूले लेखेको कवितालाई आदरणीय पाठकहरु समक्ष राख्दै यो लेखको बिट मार्न चाहन्छु–
चित्त बुझ्दैन केही लेखौं
आँखी होइन्छ कि भन्ने डर
मन मान्दैन केही बोलौं
बाइलो हाइन्छ कि भन्ने डर ।
यो डरै डरको भुमरीमा निरुद्देश्य बाँच्दा
कतै कोलमा नारिएको गोरु जस्तै भइन्छ कि भन्ने डर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *