विश्वकप छनोटः पाराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

यसअघिका २ खेलमा जित निकालेको अर्जेन्टिनाले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने अवसर गुमायो ।

आज बिहान राजधानी ब्युनर्स आयर्सको राष्ट्रिय रंगशालामा सुपरस्टार स्ट्राइकर लियोनल मेस्सी प्रेरित टोली अर्जेन्टिना पहिलो हाफको २१ औं मिनेटमै पछि परेको थियो ।

पेनाल्टी अवसरमा पाराग्वेका एंगेल रोमेरोले गोल गरी अग्रता दिलाएका थिए । अर्जेन्टिनाले पहिलो हाफमै बराबरी गोल फर्कायो ।

४१ औं मिनेटमा लो सेल्सोको पासमा निकोलास गोन्जालेसले घरेलु टोलीका लागि बराबरी गोल गरेका हुन् । दोस्रो हाफमा अर्जेन्टिनाले घरेलु मैदानको फाइदा उठाउन सकेन ।

जितपछि ३ खेलबाट ७ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा पुगेको छ । आजै भएको खेलमा इक्वेडरले बोलिभियामाथि ३-२ गोलअन्तरको महत्वपूर्ण अवे जित निकाल्यो ।

विश्वकप दक्षिण अमेरिकी छनोटमा शुक्रबार ३ खेल हुनेछ । कोलम्बियाले उरुग्वे, चिलीले पेरु र ब्राजिलले भेनेजुएलासँग खेल्नेछ ।

विश्वकप छनोटमा दक्षिण अमेरिकाको छनोट शैली अरुभन्दा भिन्दै छ । सहभागी १० टिमले होम एन्ड एवेका आधारमा राउन्ड रोविन लिग खेल्नेछन् ।

लिगमा शीर्ष चार स्थानमा आउने टोलीले विश्वकप खेल्नेछ भने पाँचौं स्थानमा रहनेले प्लअफ खेल्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *