प्रदेश राजधानीसंग जोडिएको सन्दर्भ


जीतबहादुर शाह। फेसवुक खोलेको मात्र के थिएँ, चर्को स्वरमा हल्ला सुनियो । कुर्चि उठाएर टेवुलमा बजारेको देखियो । बोल्ने माइक पनि टुक्राटुक्रा पारेर भूइमा झारेको देखियो । हल्ला र कोलाहलको बीचमा माननीय सदस्यज्यू भन्ने पनि घुइरो घुइरो सुनियो । कहाँ के भइरहेको छ भनेर म त एकछिन अलमलमै परें । पछि स्टाटस हेरेपछि थाहा पाएँ, प्रदेश नं. ५ को प्रदेश सभाको बैठकको दृश्य रहेछ त्यो । सन्दर्भ प्रदेशको राजधानी तोकेकोमा आपत्ति रहेछ । प्रदेशसभामा प्रदेशको राजधानी दाङदेउखुरीको भालुवाङ भनेर टेवुल भएपछि उठेको विवादस्वरुप भएको चर्काचर्काबाट निस्किएका परिणामहरु रहेछन् ती । कलमको सहयोगले त मैले पनि धेरैसँग युद्ध गरेको छु तथापि त्यो सभामा आफै बस्ने कुर्चि समातेर टेवलमा ठोक्दै गर्ने युद्धको बारेमा भने परिकल्पना पनि गर्न भ्याएको थिएन । तथापि आँखैले देखें, हाम्रा जनप्रतिनिधिहरुले त्यसरी नै युद्ध गरे । तथापि त्यो युद्धको परिणाम राम्रो भएन । त्यसैको भोलिपल्ट दुईतिहाइ बहुमतले कुर्चि बजार्नेहरुको विरुद्धमा मतदान गरेर प्रदेश नं. ५ को राजधानी देउखुरी कायम भयो र प्रदेशको नाम लुम्विनी पनि त्यहि दिन न्वारान गरियो ।

यतिबेला मलाई भने प्रदेश नं. ५ सरकारको मातहतमा रहेर काम गर्दाको एउटा तीतो सम्झना स्मृतिपटलमा घुमिरहेको छ । कसैले ५ नं. प्रदेश भन्थे । कसैले प्रदेश नं. ५ भन्थे । यसैमा पनि ठूलो विवाद थियो । कार्यालयका साइनबोर्ड र व्यानरहरुमा समेत यस्तै यस्तै विविधता देखिन्थ्यो । कहिलेकाही त ठूलै विवाद भएर व्यानर र साइनबोर्ड नै पुनर्लेखन गरिन्थे । अव भने त्यो झन्झटबाट मुक्ति पायो प्रदेशले । जन्मेको दशाैं एघारौै दिनतिरै नाम राख्नु पर्ने प्रचलन भएपनि जन्मेको पुगनपुग अढाइ वर्षपछि प्रदेश नं. ५ ले आफ्नो नाम पायो–लुम्विनी । मैले पनि यही नाम सोचेको थिएँ र कति ठाउमा भनेको पनि थिएँ । यद्यपि सरकारका मान्छेसम्म यो कुरो पुरयाउनलाई मेरो पहुँच थिएन र पुरयाइन पनि । तथापि जनताको आवाज सम्बोधन ग¥यो प्रदेश सरकारले । अरु कुरामा सोच्नुपर्छ, नामाकरणको सवालमा भने प्रदेश सरकारले जनताको भावनाको कदर गरेको कुरामा कसैको पनि विमति छैन । जनताको सरकारले गर्ने निर्णय यस्तै हुनुपर्दछ जनताको मन र मुटुले भने बमोजिमका ।

राजधानी पनि राप्ती उपत्यकामा रहेको देउखुरीको भालुबाङमा तोकिएको छ । जसले जे भने पनि अव देउखुरीको भालुबाङदेखि कालाकाटेसम्मको क्षेत्रले पनि विकास हुने अवसर पाउने भयो । मुख्य मन्त्री शंकर पोख्रेलको शब्दमा त्यो भनेको भर्जिन भूमि हो अव विकास र समुन्नतिका लागि गर्भाधानको अवसर पाउने भयो । विचरा वेवारिसे थियो भालुबाङ अहिलेसम्म । रमाइलो जसले पनि गर्नुपर्ने तर आफ्नो कसैले नसम्झिने नगरबधु जस्तै । भालुबाङ बजारमा भएका यमानका भवन र विल्डिङ देख्दा त लाग्छ, यो पुरानो शहर हो क्या रे । तर भएर के गर्ने, अहिलेसम्म त्यो बजार ऐलानी (सार्वजनिक) मा बनेको रहेछ । त्यसैले होला सायद मुख्यमन्त्रीले भर्जिन भूमि भनेको । जसले जे भने पनि मलाई भने सरकारले प्राथमिकता नदिएर हेपेको र होचो अर्घेलो गरेकै कारणले त्यस्तो भएको हो भन्ने लाग्छ । सरकारले भालुबाङलाई सम्मान गरेर त्यहाँ बसिरहेका व्यक्तिहरुको नाममा जग्गा दर्ता गर्ने अवसर दिएको भए भालुबाङले पनि सरकारलाई राजश्व तिरेर सरकारप्रति आदरभाव व्यक्त गर्थ्यो होला । सरकारले अहिलेसम्म त्यो अवसर नै दिएन भालुबाङलाई । त्यही भएर भालुबाङले पनि सम्मान गर्ने मौकै पाएन सरकारलाई ।

पढाउने गुरुबाट पटकपटक कुटाइ र गाली खाएको कारण शिक्षकलाई कुट्ने भनी लौरो समातेर गौडो कुरी बसेको विद्यार्थी जस्तै भएको थियो भालुबाङ अहिलेसम्म । अवभने केही राहत मिलेको छ । भालुबाङको पक्षमा दुइतिहाइ देखाउन आस्था, विचार र राजनीतिक दलको ह्वीपलाई समेत वेवास्ता गरी एकैठाउमा उभिएको देख्न पाइयो राजनेताहरु । उभिनु पनि तर्कसङ्गत थियो । जनप्रतिनिधि प्रदेशस्तरको हुने, दृष्टिकोण भने पालिका र टोलस्तरको हुने परिपाटीलाई छोडेर प्रदेशस्तरकै सोचाइका साथ मतदान गरेको देखियो । प्रदेशको केन्द्रमा रहेको र प्रदेशका सवैलाई पायक पनि पर्ने थलोको रुपमा रहेको भालुबाङ क्षेत्रलाई राजधानी तोक्नु पनि सान्दर्भिक देखिएको छ, जति सान्दर्भिक यसको नामाकरणमा देखिएको छ । मुख्य मन्त्री शंकर पोख्रेलले भने झै लुम्बिनी प्रदेशमा अव एउटा नयाँ व्यवस्थित शहरको निर्माण हुनेछ राजधानी स्थापना गर्ने क्रममा । यसक्रममा धेरैको व्यापार, व्यवसाय फष्टाउनुको साथै भैरहवा र नवलपरासीको उत्पादनले समेत बाँके र बर्दियासम्म पनि आफ्नै प्रदेशको उत्पादन भनेर माया र सदभावका साथ बजार पाउनेछ । भालुबाङ नजीकै रहेको धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्वारीले समेत विकासका निम्ति अझै थप अवसर पाउनेछ ।

मैले सुरुमै उल्लेख गरेझै राजधानीलाई भालुबाङ क्षेत्रतिर सार्ने विषय प्रदेश सभामा प्रवेश हुँदा केही अशोभनीय हरकतहरु भए जो नहुनु पर्थ्यो । विधिहरु तमाम थिए । त्यस्तो नगरेको भए पनि हुन्थ्यो । यसबाट नेपालका राजनीतिक दलहरु आचरण, व्यवहार र नैतिकताको हिसावले सवै एउटै ड्याङका हुन् भन्ने देखाउछ । परिआयो, अवसर मिल्यो र रीस उठ्यो भने नैतिक–अनैतिक जे गर्नपनि तयार हुने सायद हाम्रा नेताहरुको महत्वपूर्ण एजेण्डा र जिम्मेवारीभित्र पर्छ क्या रे । त्यही भएर त परिआए शहिद हुन पनि तयार हुन्छन् । अवसर पाए भ्रष्टाचार गरेर देशको ढुकुटी पनि आफ्नो पोल्टामा पार्न पछि पर्दैनन् र रीस उठ्यो भने राज्यको सम्पत्तिलाई तोडफोड गर्न र आगो लगाउन पनि तयार हुन्छन् । रिस उठ्योे भने कुर्चिको निम्ति लडाइ भइरहेको परिवेशमा पनि हाम्रो देशका नेताहरु आफ्नै कुर्चि उठाएर भाँच्न पछि पर्दैनन् । सायद यो पनि उनीहरुको अर्थमा त्याग र बलिदानी हो क्या रे । मेरो पिरलो भने तोडफोडको यो अभद्र संस्कार हाम्रो राजनीतिमा कहिलेसम्म चल्ने होला र हाम्रा सन्ततिहरुले यसबाट के सिक्ने होलान भन्ने हो । म्याक्सवेलका अनुसार नेता भनेको त त्यो हो, जसलाई बाटोको बारेमा बोध हुन्छ, जसले बाटो देखाउछ र आफूपनि त्यो बाटो हिड्छ । के यही हो त हाम्रा नेताहरुले देखाउने बाटो ?

भालुबाङ क्षेत्रमा राजधानी बनाउने प्रदेश सरकारको निर्णयले दाङबासीहरु खुसीले प्रफूल्लित भएका छन् । त्यो स्वाभाविक हो । बुटवल क्षेत्रका बासिन्दाहरुले दुःख मनाउ गरिरहेका छन् । त्यो पनि स्वाभाविक हो । बाँके र बर्दियातिरकालाई भन्ने हर्ष न विस्मात जस्तो भएको छ । बुटवलतिर राजधानी भएको भए त बाँके र बर्दिया कर्णालीतिर मिसिने प्रक्रियामा जुट्ने कुरा निश्चित थियो । राजधानी भालुबाङसम्म आएको सन्दर्भले भने उनिहरु असमञ्जसमा परेका छन् । कतिपय नेताहरुले त हामी त कर्णालीतिर जाने हो भनेर फेसबुकमा स्टाटस लेखेको पनि देखियो । त्यसो भन्नुमा पनि कारण छ, कतिपयको कर्णाली र बाँके बर्दिया दुवैतिर घरबास छ, अप्ठ्यारो पर्दा कर्णालीलाई बाँकेबर्दिया चाहिने र बाँके बर्दियालाई कर्णाली चाहिने पुरानो परम्परा पनि कायमै छ । बरु कर्णालीका केही नेताहरु त्यसमा पनि विशेष गरी सुर्खेत क्षेत्रका नेताहरुले भने हत्तपत्त बाँके बर्दियालाई कर्णालीमा नमिसाउने पक्षमा छन् । यसमा पनि कारणहरु छन् ।

यसपूर्व विकास क्षेत्र हुँदा क्षेत्रीय मुकाम सुर्खेत भएपनि धेरै क्षेत्रीय सरकारी अफिसहरु नेपालगञ्जमा थिए । कतै त्यही रोग फेरि पनि बल्झिन सक्छ भन्ने त्रास सुर्खेतलाई अहिले पनि छ । त्यो पनि स्वाभाविक हो । तथापि कर्णाली प्रदेशलाई बाँके, बर्दियाको जति महत्व छ त्यत्ति महत्व लुम्बिनी प्रदेशलाई भएको देखिदैन । बाँके बर्दिया जस्ता भारतसँग जोडिएका र खाद्यान्न उत्पादनका हिसावले उर्वर जिल्लाहरु लुम्बिनी प्रदेशसँग अरुहरु पनि छन् । तर कर्णाली प्रदेशमा बाँके र बर्दिया भइदिएको भए कर्णाली प्रदेश सवैभन्दा उर्वर र उपयुक्त प्रदेश हुन्थ्यो । त्यो कुरा खुल्ला दिलले सुर्खेत लगायत कर्णाली प्रदेशले पनि सोच्नुपर्थ्यो भन्ने लाग्छ । भारतसँग नाका जोडिएका र अन्न भण्डारको रुपमा चिनिएका बाँके र बर्दिया कर्णालीमा हुनु भनेको कर्णाली सवैहिसावले सम्पन्न हुनु हो । तथापि अव त्यो असम्भव नभएपनि त्यति सजिलो भने छैन । मलाई लाग्छ, बाँके, बर्दिया र कर्णाली प्रदेशको सम्बन्ध अञ्जु पन्तको गीत– माया एउटासँग विहे अर्कोसँग भने जस्तै मात्रै होला जस्तो लागिरहेको छ । समयमा बुद्धि नपुगेपछि हात लाग्ने यस्तै पछुतो बाहेक अरु के पो हुन्छ र ?

समग्रमा प्रदेशको राजधानी र नामको टुङ्गो लगाएर राम्रो गरेको छ प्रदेश सरकारले । तथापि विगत सम्झिने हो भने करिव अढाइ वर्ष अनिर्णयको बन्दी भएर समय घर्क्यो । प्रदेश सरकार गठन भएकै बेला यो निर्णय गर्न सकेको भए अहिले धेरै पूर्वाधारहरु बनि सक्थे भालुबाङ क्षेत्रमा । बस्ने ठाउकै अलमल भएपछि विकास पनि त्यही पाराले अल्मलिदोरहेछ जो लुम्बिनी प्रदेशले अहिलेसम्म भोगिरहेको थियो । अव पुराना कुरा कोट्याउनु आवश्यक छैन । बरु सवै प्रदेशबासी एकाकार भइ विकासमा सरिक होऔं । बाँकेबर्दियादेखि नवपरासीसम्मको नागरिकहरुमा एउटै प्रदेशबासी हुनुको हार्दिकता र अपनत्वको विकास गरौं । भालुबाङ क्षेत्रमा राजधानीका लागि पूर्वाधार क्षेत्रको छनौट र निर्माण गर्दा दलाल, विचौलिया र दलिय गन्धमा नफसी भालुबाङ क्षेत्रका बासिन्दालाई मात्र नभइ सम्पूर्ण प्रदेशबासीलाई भालुवाङ क्षेत्रमा राजधानी भएकोमा गर्व गर्ने वातावरणको सिर्जना गरौं । यसकारण कि भालुबाङ क्षेत्रलाई राजधानी बनाएकोमा आफ्नो कुर्चिसँग आफैलाई रिस उठेकाहरुलाई समेत पछुतोभाव महसुस हओस् । सवैलाई चेतना भया !
मिति २०७७ साल असोज २२ गते विहीबार /

Leave a Reply

Your email address will not be published. Required fields are marked *